Matra Education आइतबार, साउन १० २०८३

एसइई परीक्षाको विषयमा राजधानीमा गोष्ठी, खारेज गर्न नहुनेमा जोड

एसइई परीक्षाको विषयमा राजधानीमा गोष्ठी, खारेज गर्न नहुनेमा जोड

  • मात्र एजुकेशन
  • बुधबार, असोज २४ २०८०


काठमाडौँ- विद्यालय शिक्षा विधेयक २०८० मा प्रस्ताव गरिएजस्तो माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्न नहुनेमा सरोकारवालाहरूले जोड दिएका छन्। मंगलबार राजधानीमा शिक्षालय राष्ट्रिय मासिक पत्रिकाले आयोजना गरेको गोष्ठीमा सहभागीहरूले शैक्षिक गुणस्तर खस्कन सक्ने भन्दै परीक्षा खारेज गर्न नहुने तर्क प्रस्तुत गरेका हुन्।

उक्त गोष्ठीमा शिक्षा पत्रकार प्रकृति अधिकारीले गुरुकुल शिक्षा देखि आधुनिक शिक्षा सम्मको इतिहास र विभिन्न तथ्यांक समेटिएको आफ्नो कार्य पत्र प्रस्तुत गरेका थिए । त्यस्तै लालीगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले आफ्नो कार्यपत्रमा परीक्षाको महत्वको चर्चा गरे। उनले परीक्षा र अध्ययन गर्ने बानीकै कारण किशोर किशोरीहरू कुलत बाट बचेको र सही मार्गमा लाग्ने गरेको भन्दै त्यस किसिमका विभिन्न उदाहरणहरू प्रस्तुत गरे।

यसै गरी कार्य पत्र पेस गर्ने क्रममा प्रोजेक्ट पोसिवल नेपालका सिइओ विजेन्द्र प्रधानले एसइई परीक्षाको फाइदा र बेफाइदाका बारेमा चर्चा गरेका थिए। कार्यपत्र प्रस्तुति पश्चात् नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)का अध्यक्ष भोला चालिसे, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, हिसानका केन्द्रीय उपाध्यक्ष रामहरि सिलवाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापा, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम लगायतले पनि एसइई परीक्षाको महत्वको बारेमा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइई परीक्षाको महत्त्व बारेमा आफ्नो मन्तव्य राख्दै विकसित मुलुकमा परीक्षाको अभ्यास बारे चर्चा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड