Matra Education आइतबार, साउन १० २०८३

‘टेक्सस फेस्ट २०८०’ सम्पन्न

‘टेक्सस फेस्ट २०८०’ सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज १२ २०८०


काठमाडौँ- टेक्सस इन्टरनेसनल कलेजमा बिबिएम र बिएचएम अध्ययनरत विद्यार्थीहरूको आयोजनामा टेक्सस फेस्ट सम्पन्न भएको छ। टेक्सस कलेजको सहयोगमा आयोजित उक्त कार्यक्रम पाठ्यक्रममा पढ्नुपर्ने ‘इभेन्ट म्यानेजमेन्ट’ र ‘फुड फेस्टिभल’ लगायतका विषयलाई प्रयोगात्मक रूपमै सिकाउनका लागि आयोजना गरिएको कलेजले जनाएको छ। सङ्गीत र खानाको सङ्गम बनेको उक्त कार्यक्रम विद्यार्थीले नै तयार पारेका खानाहरू अतिथिलाई चखाउने र विद्यार्थीका साङ्गीतिक प्रस्तुतिहरूमा झुमाउने अवसर बनेको थियो।

कार्यक्रमलाई टेक्सस इन्टरनेसनल कलेजका चिफ अफ एकेडेमिक्स प्रा डा गोविन्द प्रसाद आचार्यले शुभकामना मन्तव्य मार्फत सुरुवात गरेका थिए। उनले यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा सहकार्य र एकताको भाव विकास हुने उल्लेख गरे।

त्यस्तै टेक्सस कलेजका सह-प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै बिबिएम र बिएचएम अध्ययनरत विद्यार्थीलाई धन्यवाद दिए। उनले खाना पारखीहरूका लागि विभिन्न परिकार र मनोरञ्जनका लागि विविध प्रतिभाहरू समेटिएको सांस्कृतिक कार्यक्रम समावेश गरिएको हुँदा कार्यक्रम अर्थपूर्ण हुने विश्वास व्यक्त गरे। कार्यक्रमको प्रायोजक खोज्ने देखि अन्य सबै व्यवस्थापनको पाटो विद्यार्थीहरूले नै गरेकाले भोलिका दिनमा कार्यक्रमहरू सफलतापूर्वक कसरी आयोजना गर्ने भन्ने ज्ञान विद्यार्थीले प्राप्त गर्ने उनको विश्वास थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका आमन्त्रित अतिथि तथा अन्य अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित दर्शकहरूले विद्यार्थीले तयार गरेको खानाको स्वाद र प्रस्तुत गरेका विविध प्रस्तुतिहरूले मन्त्रमुग्ध बनाएको प्रतिक्रिया दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै टेक्ससका प्रधानाध्यापक भेषराज पोखरेलले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको यो कार्यक्रम प्लस टु पढ्ने विद्यार्थीका लागि सिकाईको राम्रो माध्यम भएको बताए। टेक्ससले सधैँ किताब बाहिरका ज्ञानलाई पनि उच्च प्राथमिकतामा राख्ने गरेको हुँदा कार्यक्रम त्यसैको निरन्तरता भएको उनको भनाई थियो। उनले कार्यक्रम आयोजना गर्ने विद्यार्थी र सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

बिहान १०:३० बजे सुरु गरिएको कार्यक्रम दिनभर चलेको थियो। उक्त अवसरमा टेक्सस टिकटक भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड