काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकहरू बिच सहमति भएको छ। अघिल्लो शुक्रवार आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकार बिच भएको सहमतिमा आफूहरू माथि धोका भएको भन्दै राहत शिक्षकहरू सहित अन्य असन्तुष्ट शिक्षकहरूले आन्दोलन जारी राखेका थिए।
शुक्रवार शिक्षामन्त्री अशोक कुमार राई, राज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी, सहसचिव डा. हरि प्रसाद लम्साल सहित शिक्षकहरूका तर्फबाट नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, नेपाल बालविकास शिक्षक केन्द्रीय समितिका अध्यक्ष कृष्णकुमारी थापा, नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहभागी वार्ताले सहमतिको निष्कर्ष निकाले सँगै आन्दोलन स्थगित भएको हो।


