काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठ नगर कमिटीले ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ४’ आयोजना गर्ने भएको छ। २०७५ सालमा आयोजित पहिलो अपेन किड्स ट्यालेन्ट ट्रायलको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गर्न लागिएको अपेन बुढानीलकण्ठ नगर कमिटीले जनाएको छ।
अपेन बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा सम्पन्न हुने कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको सहकार्य रहने बताइएको छ। आगामी असोज १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा सम्पन्न हुने कार्यक्रममा ३० विद्यालयका करिब ६०० बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति रहनेछ।
मात्र एजुकेसन सँग कुरा गर्दै अपेन बुढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक विनोद थापाले अपेन बुढानीलकण्ठले समस्त बालबालिका, प्राचार्य, तथा शिक्षक कर्मचारीको शैक्षिक, सामाजिक क्षमता अभिवृद्धिको लागि कार्य गर्दै आएको र यो कार्यक्रम त्यसैको निरन्तरता भएको बताए । यो कार्यक्रमले बालबालिकाहरूको क्षमता विकास गर्ने अपेनको उद्देश्यमा एउटा इँटा थप्ने उनको विश्वास थियो।
अपेन बुढानीलकण्ठले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गर्ने छ।