काठमाडौँ- भारतको ज्योतिर्मय पब्लिक स्कुलले कुमारीपाटी ललितपुर स्थित युनाइटेड एकेडेमी र इमाडोलमा रहेको युनाइटेड स्कुलको मैत्रीपूर्ण भ्रमण गरेको छ। उक्त विद्यालयको भ्रमण दल बुधवार युनाइटेड एकेडेमी आइपुगेको थियो।
तिन जना शिक्षक- शिक्षिका र २६ जना विद्यार्थी सम्मिलित उक्त भ्रमण दललाई स्वागत गरी युनाइटेड एकेडेमीले ‘स्कुल टुर’ गराएको थियो। नेपालको शैक्षिक प्रणालीको अध्ययन अवलोकनका लागि आएको टोलीले नेपालमै उत्कृष्ट विद्यालय छनोट गर्ने क्रममा युनाइटेड एकेडेमी आएको बताइएको छ।
आगन्तुक अतिथिको स्वागत तथा सम्मानमा युनाइटेड एकेडेमीले एक विशेष कार्यक्रम आयोजना गरेको थियो। गायन, नृत्य लगायतका विविध प्रस्तुतिहरू मार्फत अतिथिलाई न्यानो सत्कार प्रदान गरिएको थियो।
कार्यक्रममा युनाइटेड स्कुलकी प्रधानाध्यापक निरा प्रधान र ज्योतिर्मय पब्लिक स्कुलका प्रधानाध्यापक हेमप्रकाश सम्पथ कुमारको विशेष उपस्थिति रहेको थियो भने अतिथिलाई युनाइटेड स्कुलकी प्रधानाध्यापक प्रधान र ‘एकेडेमिक हेड’ चिरञ्जीवी निरौलाले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा अतिथि विद्यार्थीहरूले नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै सांस्कृतिक र मैत्रीपूर्ण भाव दर्साएका थिए।
यस किसिमका मैत्रीपूर्ण भ्रमणहरूले शिक्षा क्षेत्र मार्फत नेपाल भारत जस्ता छिमेकीहरूको सम्बन्ध अझै प्रगाढ हुनसक्ने विश्वास संस्थाले लिएको युनाइटेड प्रशासन बताउँछ।
