काठमाडौँ- सरस्वतीनगर चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको हो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै विशेष अतिथिका रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ रहँदा विभिन्न क्षेत्रमा सफलता हात पारेका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा रिलायन्सका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिलायन्स कलेजका सह प्रधानाध्यापक नन्दु कुशवाहले उपस्थित सबै अतिथिलाई कार्यक्रममा स्वागत गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गरे । उनले रिलायन्सको स्थापना देखि आज सम्मका उपलब्धि, संस्थाको उद्देश्य, गरिरहेको काम र आगामी योजना बारे प्रस्ट पारे। साथै कुशवाहले रिलायन्स पढ्ने विद्यार्थीको कलेज रहुन्जेल सम्मको समय उत्कृष्ट बनाउने प्रतिबद्धता सहित सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए।

रिलायन्समा अध्ययन गर्दै गर्दाको आफ्नो अनुभव बाँड्दै कक्षा १२ की छात्रा विश्वकला नेपालले कलेजले आफ्ना लागी जीवन भरका लागि हुने ठुला ज्ञान र अवसरहरू सिर्जना गरेको बताइन् । एउटा कलेजमा हुनुपर्ने सबै पक्ष उतिकै अब्बल रहेको रिलायन्समा पाइने विशेषता अन्त पाउन कठिन हुने उल्लेख गरेकी उनले रिलायन्स काठमाडौँकै उत्कृष्ट कलेज भएको बताइन् । उनले कक्षा ११ का विद्यार्थीलाई अर्थपूर्ण सिकाई यात्राको लागि शुभकामना र कक्षा १२ उत्तीर्ण गरेकालाई बधाई सहित सुन्दर भविष्य निर्माणको शुभकामना दिइन्।

‘संस्कृति सहितको शिक्षा’ भन्ने नारा बोकेको रिलायन्सले आफ्ना हरेक कार्यक्रममा नेपाली संस्कृतिको जगेर्ना गर्ने अधिकतम प्रयास गर्दै आएको छ। त्यसै अनुरूप २ मिनेटको ध्यान बाट सुरु भएको कार्यक्रममा शिव ताण्डव लगायत नेपाली कला संस्कृति झल्कने प्रस्तुतिहरूलाई विशेष महत्त्व दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि, एन्फा अध्यक्ष नेम्वाङले रिलायन्स आफूलाई गुणस्तरीय शिक्षाको पर्यायको रूपमा स्थापित गर्न सफल भएको भन्दै बधाई दिए। संस्थाले पढाई सँगै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिएको आफूले पाएको भन्दै उनले दिपा शाही जस्तो राष्ट्रिय खेलाडी उत्पादन गर्ने रिलायन्सले खेल क्षेत्रको विकासमा पनि ठुलो योगदान दिएको उल्लेख गरे। एन्फा सँग आज सम्म गरेको सहकार्यका लागि धन्यवाद दिएका उनले भोलिका दिनमा पनि त्यो जारी रहने अपेक्षा गरे। विद्यार्थीलाई ११/१२ पढ्ने उमेर अति संवेदनशील हुने हुँदा आफू भन्दा ठुलाको सल्लाह र मार्ग निर्देशन लिएर सही निर्णय गर्न उनले सुझाव दिए।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि, सेबन अध्यक्ष हमालले शिक्षा नै सफलता र राम्रो जीवन जिउने सूत्र भएको बताए। आफ्नो विद्यार्थी जीवन, त्यतिबेलाको लक्ष्य र अहिले समातेको बाटो बारे फरक देखाएका उनले जीवन सधैँ सिधा रेखामा नचल्ने उल्लेख गरे। दिनानुदिन बिदेसिने नेपाली विद्यार्थीहरूको सङ्ख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सकेसम्म देशमै अवसर खोज्न विद्यार्थीहरूलाई सुझाए। २० वर्ष विदेश बस्दा पनि आफ्नो देश जस्ताको त्यस्तै रहेको हुँदा देशमै केही गर्नुपर्छ भनेर आफू पनि नेपाल फर्किएको उनको भनाई थियो। राष्ट्रिय विकासको गति ढिलो भएकै कारण यस्तो नैराश्य उत्पन्न भएको धारणा राखेका उनले नेपालले युवा जनसङ्ख्याको उच्चतम सदुपयोग गर्नुपर्ने बताए। सबैको सामूहिक प्रयासले देश निर्माण हुनसक्ने उल्लेख गरेका उनले विद्यार्थीलाई आगामी दिन सफल बनाउन केही उपायहरू समेत सुझाए।

कार्यक्रममा शैक्षिक रूपमा तथा खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष अतिथिको हातबाट पुरस्कृत गरिएको थियो। त्यस्तै कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रममा कक्षा ११ मा अध्ययनरत छात्रा संगम कार्की र कक्षा १२ उत्तीर्ण गरेकी छात्रा मार्था गुरुङले भव्य कार्यक्रम मार्फत स्वागत बिदाइ गरेको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए।
औपचारिक कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति थापाले ७० भन्दा बढी विभिन्न जिल्लाबाट ठुला सपना बोकेर रिलायन्स को २१औ ब्याचमा भर्ना भएका सबैलाई स्वागत गरे। उनले कक्षा १२ पास गर्नेलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिँदै रिलायन्सले हालसम्म प्राप्त गरेका उपलब्धि र विद्यार्थीको सर्वपक्षीय विकासका लागि संस्थाले गर्दै आएको प्रयासहरू बारे चर्चा गरे। पटक पटक राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट साबित हुँदै पुरस्कृत बनेको संस्थाले १५४८ स्कुललाई पछि पार्दै २ दिन अघि मात्रै प्रथम भएर पुरस्कृत भएको स्मरण गरे । आज देश विदेशका हरेक क्षेत्रमा रिलायन्सका ग्राजुएटहरुले काम गरिरहेको भन्दै उनले प्रमाणपत्र दिने भन्दा सिर्जनात्मक र अन्वेषणात्मक शिक्षण रिलायन्सको सिद्धान्त भएको बताए। थापाले रिलायन्सले शिक्षा सँगै सिप र संस्कार पनि दिइरहेको र भोलिको दिनमा पनि त्यो जारी रहने प्रतिबद्धता सहित औपचारिक कार्यक्रम अन्त्य गरे।

कार्यक्रमको अनौपचारिक सत्रमा रिलायन्सका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू देखाइएको थियो। गायन, नृत्य, वाद्यवादन सबैमा उत्तिकै अब्बल रिलायन्सका विद्यार्थीले यो सत्रमा दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए।
रिलायन्सका इसिए/सिसिए कोअर्डिनेटर गोविन्द ढकालको कुशल कार्यक्रम सञ्चालन शैलीले कार्यक्रमलाई अझै विशेष बनाएको थियो।

कार्यक्रमका थप केही तस्बिरहरु यहाँ क्लिक गरेर हेर्न सकिन्छ।