काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरोधमा विद्यालय बन्द गरेर राजधानीको सडकमा आन्दोलनरत शिक्षक र सरकार बिचको वार्ता निष्कर्षविहीन भएको छ। आज बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी सहित वार्ता भएको भए पनि ठोस सहमति हुन नसकेपछि आन्दोलन यथावत् रहने भएको हो।
यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि नटेरेका शिक्षकहरूको तर्फबाट बिहीबार भने शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर सहित नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधिहरू गृह मन्त्रालय पुगेका थिए।
वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले वार्ताबाट समस्या समाधान गरिने भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको बुझिएको छ। तर शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताएका छन्।
उनीहरूले बिहीबार पनि काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।