Matra Education आइतबार, साउन १० २०८३

माइतीघरमा घन्कियो, ‘माफिया शिक्षामन्त्री राजीनामा दे’

माइतीघरमा घन्कियो, ‘माफिया शिक्षामन्त्री राजीनामा दे’

  • मात्र एजुकेशन
  • बुधबार, असोज ३ २०८०


फाइल तस्बिर

काठमाडौँ- संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरुद्ध आन्दोलन गर्न काठमाडौँ आएका शिक्षकहरूले शिक्षामन्त्री अशोक कुमार राईको राजीनामा मागेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौँ आइपुगेका उनीहरूले शिक्षामन्त्रीलाई माफियाको आरोप लगाउँदै राजीनामा मागेका हुन् ।

विभिन्न प्लेकार्ड तथा ब्यानरहरू सहित माइतीघर उत्रिएका देशभरका शिक्षकहरूले शिक्षकहरूको माग सम्बोधन गर्न नसक्ने शिक्षामन्त्रीलाई पदमा बस्ने कुनै नैतिकता नभएको भन्दै तुरुन्त पद छोड्न चेतावनी दिएका छन् । उनीहरूले `अवैध सुन चाहिँदैन, शिक्षक मास्न पाइँदैन´ `मन्त्रालय हामी चलाउँछौ, तेरो विधेयक जलाउँछौँ´ `मन्त्रीको बोर्डिङ स्कुल बन्द गर´ लगायतका उग्र नारा लगाएका छन् । आफ्ना विभिन्न मागहरू लेखिएका प्ले कार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै उनीहरूले राजधानीको सडक तताएका हुन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवा सुविधा, नियमनलगायत विषयहरू पालिका मातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सरुवा-बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग राखेर शिक्षकहरू आन्दोलित छन् । यसअघि सरकारले शिक्षक महासङ्घलाई वार्तामा बस्न पटक-पटक बोलाएको थियो ।

महासङ्घले आन्दोलनको आह्वान गर्नुअघि मंगलबार दिउँसो ३ बजे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्ताको लागि बोलाएका थिए । तर, सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गर्दै उनीहरू आन्दोलनमा होमिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड