काठमाडौँ- सरकारले संसद्मा पेस गरेको विद्यालय सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आज बाट सडक आन्दोलन गर्ने भएको छ। महासङ्घको अगुवाइमा देशभर बाट शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आइपुगेका छन्।
महासङ्घले बुधवार बिहान ११ बजे माइतीघर मण्डलामा जम्मा भएर आन्दोलनमा सहभागी हुन भनेको छ। १८ बुँदे माग राखी आन्दोलनमा उत्रिएको महासङ्घको सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सहितका माग छन्। यस अघि शिक्षा मन्त्रालयले वार्तामा बस्न गरेको अनुरोध महासङ्घले अस्वीकार गरेको थियो।
रक्षामन्त्री तथा कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खडका भने महासङ्घ नेतृत्व सँग भएको छलफल र त्यसको सहमतिकै आधारमा विधेयक पुनः मन्त्रिपरिषद् बाट पारित गरिएको बताउँछन्। सम्भव हुने सबै माग पुरा गर्न सरकार तयार रहेको भन्दै उनले विद्यालय बन्द फिर्ता लिन अनुरोध गरेका छन्। महासङ्घ भने आफूहरूलाई धोका भएको भन्दै यो अन्तिम लडाइँ बाट पछि नहट्ने अडानमा छ।
महासङ्घको आन्दोलनले देशभरका शिक्षक राजधानीमा रहेको हुँदा पठनपाठन प्रभावित बन्ने भएको छ ।