काठमाडौँ- मिलनचोक, कपनमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी उत्कृष्ट संस्थागत विद्यालयका रूपमा पुरस्कृत भएको छ। राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रिलायन्स सहित अन्य दुई संस्थागत विद्यालय र पाँच सामुदायिक विद्यालयलाई पुरस्कृत गरेको हो।
बागमती प्रदेश भित्रका माध्यमिक शिक्षा परीक्षा (कक्षा १०), मा उत्कृष्ट स्थान हासिल गर्ने ५ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्न स्वीकृत मापदण्डको आधारमा ती विद्यालयहरू छनोट गरिएको मन्त्रालयले जनाएको छ। सूचना अनुसार रिलायन्स इन्टरनेसनल एकेडेमी औसत जिपिए ३.७६३४ सहित संस्थागत तर्फ प्रथम हुँदा व्हिज किड्स इन्टरनेसनल स्कुल औसत जिपिए ३.७०३३ सहित द्वितीय भएको छ भने फ्लोरिसेन्ट सेकेण्डरी स्कुल औसत जिपिए ३.७०२० सहित तृतीय भएको छ।
त्यस्तै सामुदायिक तर्फ मेघा माध्यमिक विद्यालय, भक्तपुर प्रथम, पृथ्वी माध्यमिक विद्यालय, नुवाकोट द्वितीय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय काठमाडौँ तृतीय, पृथ्वी नारायण माध्यमिक विद्यालय काठमाडौँ चौथो र बलम्बु मावि काठमाडौँ पाँचौँ हुन सफल भएका छन्।
छनोट भएका विद्यालयलाई असोज २ गते (आज) राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर एक कार्यक्रम आयोजना गरी प्रदेश सामाजिक विकास मन्त्रालयले पुरस्कृत गरेको छ। प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको उपस्थितिमा मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन्। रिलायन्स इन्टरनेसनल एकेडेमीको तर्फबाट रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले एक लाख नगद पुरस्कार, समान तथा प्रमाणपत्र ग्रहण गरे।
रिलायन्सले यसअघि पनि उत्कृष्ट नतिजा हासिल गर्दै थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ। २०७० को एस.एल.सी, २०७५ को एस.इ.इ. लगायतका राष्ट्रिय परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गरी संस्थाले सङ्घीय सरकार, बागमती प्रदेश सरकार तथा स्थानीय सरकारहरूबाट समेत पुरस्कार प्राप्त गरेको छ।
