काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्ताको कुनै औचित्य नभएको भन्दै नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ। विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आफूहरूको सुझावलाई लत्त्याएर त्यसलाई विधेयकको रूपमा संसद्मा पेस गरिएको भन्दै आन्दोलन घोषणा गरेको महासंघले आफ्नो अडान बाट पछि नहट्ने प्रस्ट पारेको हो।
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी र अध्यक्ष कमला तुलाधरले जारी गरेको विज्ञप्तिमा विधेयकको रूपमा दर्ता भइसकेको दस्ताबेजको सुधार र परिवर्तन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एकल प्रयत्नमा हुनसक्ने कुनै सम्भावना नरहेको भए पनि मन्त्रालयले औचित्यहीन वार्तामा बोलाएर भ्रम छर्न खोजेको आरोप लगाइएको छ।
साथै असोज ३ गतेबाट आरम्भ हुने आन्दोलनलाई सफल तुल्याउन काठमाडौँ आउनका लागि सबै शिक्षक-कर्मचारीहरुलाई महासंघले आग्रह गरेको छ।
