काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित नमुना संयुक्त राष्ट्रसंघ (आरपीमुन) को ८ औँ संस्करणको समापन गरिएको छ। गत बिहीबार बाट सुरु भएको कार्यक्रमको शनिवार रिलायन्स पब्लिक स्कुलको सभाहलमा समापन गरिएको हो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका बिओडि तथा चार्टर एकाउन्टेन्ट राजुकुमार सिवाकोटी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने काठमाडौँ, बुटवल, चितवन, जनकपुर, मोरङ, कञ्चनपुर लगायतका विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरी आएका प्रतियोगी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
समग्र कार्यक्रम बारे आफ्नो धारणा राख्दै आरपीमुनका सम्मेलन निर्देशक दिलीप नेपालले प्रतिस्पर्धीहरूको तिन दिने रिलायन्सको बसाइ अर्थपूर्ण भएको विश्वास व्यक्त गरे। उनले यो यात्राको एउटा सुरुवात मात्रै भएको भन्दै पाठ्यक्रम भन्दा बाहिरको यस्तो ज्ञानले विद्यार्थीहरूको भावी जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने उनले बताए। कूटनीतिको ज्ञान प्रदान गर्नु र विश्वमा देखिएका विभिन्न समस्याहरू बारे बुझाउँदै स्थानीय स्तरमा देखिएका समस्या समाधान गर्न सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाई थियो। उनले कार्यक्रमले महान् लक्ष्य प्राप्ति गर्ने बाटोमा अघि बढेका प्रतिस्पर्धीहरूको सुन्दर भविष्य निर्माणका लागि थोरै भए पनि योगदान गरेको विश्वास व्यक्त गर्दै अर्को वर्ष कार्यक्रमको नवौँ संस्करणमा अझै भव्य स्वागत गर्ने उल्लेख गरे।

विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग, विश्व तापमान र त्यसले पार्ने प्रभाव, मानवीय नवीन बस्तीको खोजी एवम् सर्वजन हिताय चः भन्ने विविध उद्देश्यका कार्यक्रम आयोजना गरिएको थियो। विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरी आएका प्रतियोगी विद्यार्थीहरूले विश्वमा भइरहेका जल्दा बल्दा समस्याको बारेमा छलफल गरी त्यस्ता समस्याको समाधानका उपाय समेत निकाल्ने प्रयास कार्यक्रममा गरेको बताइएको थियो।
समापन कार्यक्रममा सहभागी देखि उत्कृष्ट प्रदर्शन गर्ने, उत्कृष्ट भूमिका निभाउने आदिलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। रिलायन्सका विद्यार्थीको गायन र नृत्यले कार्यक्रमलाई अझै विशेष बनाएको थियो। साथै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिवाकोटीले संयुक्त रास्ट्रसंघ (युएन) को इतिहास तथा महत्त्व बारे चर्चा गरे। उनले संयुक्त रास्ट्रसंघको महासभा सुरु हुने समयमै कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए। संयुक्त रास्ट्रसंघमा नेपालको भूमिकाको समेत चर्चा गरेका उनले उक्त महासभाकै झल्को दिने गरी हरेक वर्ष आरपीमुन आयोजना हुँदै आएको उल्लेख गरे। यस्ता नमुना कार्यक्रमहरूले व्यक्तित्व विकास गर्ने, विश्वव्यापी मुद्धाहरु बारे बुझाउने र विद्यार्थीलाई आजको समय सुहाउँदो सिप दिँदै सक्षम नागरिक बनाउन भूमिका खेल्ने भनाई राखे ।
त्यस्तै कार्यक्रमका सभापति थापाले कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सफल बनाएको भन्दै आयोजकलाई धन्यवाद दिए। सहभागी विद्यार्थीको ज्ञानको दायरा र सीप बढाउन कार्यक्रम सफल भएको विश्वास आफूले लिएको उनले बताए । विश्वका जल्दाबल्दा समस्याको छलफल र तिनलाई हेरेर स्थानीय स्तरका समस्या समाधानमा सहभागीलाई लगाउन आरपीमुनले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो। थापाले सहभागिताका लागि सबै विद्यालय र विद्यार्थी तथा सहकार्यका लागि संयुक्त राष्ट्रसंघ सूचना केन्द्रलाई धन्यवाद दिए। यस्तै कार्यक्रममा अर्को वर्ष पुनः भेट्ने आशा थापाले व्यक्त गरे।
कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने प्रत्येकलाई धन्यवाद दिँदै आरपीमुनकी महासचिव ओजस्वी निरौलाले कार्यक्रम समापन गरिन्।
रिलायन्स एजुकेसन नेटवर्क योग्य एवम् अनुभवी सञ्चालकहरूद्वारा सञ्चालित (रिलायन्स पब्लिक स्कुल, रिलायन्स कलेज, रिलायन्स इन्टरनेशनल एकेडेमी, रिलायन्स को.एड., रिलायन्स किड्स होम) जस्ता विद्यालय एवम् कलेज सञ्चालन गर्ने संस्था हो ।
तपाईं यहाँ र यहाँ क्लिक गरेर मात्र एजुकेसनले कार्यक्रममा खिचेका तस्बिरहरु हेर्न सक्नुहुन्छ।