काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित नमुना संयुक्त राष्ट्रसंघको ८औँ संस्करण रिलायन्स पब्लिक स्कुलको प्राङ्गणमा सुरु भएको छ। बिहीबार विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गरिएको हो।
विद्यालय एवम् विश्वविद्यालय स्तरका बालबालिकाहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न बुझाउन रिलायन्स पब्लिक स्कुल नमुना राष्ट्रसंघ (आरपीमुन) बनाएर २०१६ सालदेखि अनवरत रूपमा क्रियाशील रहेको कार्यक्रममा जानकारी गराइएको थियो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की प्रमुख अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने मिडल स्कुल कोअर्डिनेटर सुस्मा तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विशेष अतिथिको रूपमा युएन हाउस नेपालका प्रतिनिधि सुवास नेपालीले दिगो विकासको लागि यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास हुने धारणा राखेका थिए। त्यस्तै रिलायन्स एजुकेसन नेटवर्कका बिओडि राजुकुमार सिवाकोटीले समेत आफ्नो धारणा राखेका थिए।
विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग, विश्व तापमान र त्यसले पार्ने प्रभाव, मानवीय नवीन बस्तीको खोजी एवम् सर्वजन हिताय चः भन्ने विविध उद्देश्यका साथ सुरु भएको कार्यक्रम आगामी ३० गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँ, बुटवल, चितवन, जनकपुर, मोरङ लगायतका विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरी आएका प्रतियोगी विद्यार्थीहरूले विश्वमा भइरहेका जल्दा बल्दा समस्याको बारेमा छलफल गरी त्यस्ता समस्याको समाधानका उपाय समेत निकाल्ने प्रयास कार्यक्रममा गर्ने रिलायन्स प्रशासन बताउँछ। विद्यार्थीहरूमा कूटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले सुशोभित दक्ष नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा संस्थाको विश्वास रहेको छ।
आगामी ३० गते एक भव्य कार्यक्रमको आयोजना गरी कार्यक्रम समापन गर्ने आयोजकको तयारी छ।
रिलायन्स एजुकेसन नेटवर्क योग्य एवम् अनुभवी सञ्चालकहरूद्वारा सञ्चालित (रिलायन्स पब्लिक स्कुल, रिलायन्स कलेज, रिलायन्स इन्टरनेशनल एकेडेमी, रिलायन्स को.एड., रिलायन्स किड्स होम) जस्ता विद्यालय एवम् कलेज सञ्चालन गर्ने संस्था हो ।
