काठमाडौँ- टेक्सस इन्टरनेशनल कलेजद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मङ्गलवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक औपचारिक कार्यक्रमका बिच टेक्ससले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल भेस राज पोखरेलको सभापतित्व तथा सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा आमन्त्रित थिए। कार्यक्रममा टेक्सस इन्टरनेसनल कलेजका शिक्षक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो ।
उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सस छनोट गरेर विद्यार्थीले उपयुक्त निर्णय गरेको बताए । मन्टेश्वरी देखि मास्टर्स सम्म पढाई हुने शैक्षिक संस्था भएका कारण टेक्ससले आफ्ना विद्यार्थीको बिदाइ मास्टर्स पछि मात्रै गर्ने उनको भनाई थियो । ४०० भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेको र आफ्ना विद्यार्थी सफल भए मात्रै उनीहरूले आफ्नो जित भएको सम्झने भन्दै श्रेष्ठले सफलताको भर्याङका रूपमा कलेजलाई लिन सुझाव दिए । जीवनमा सफल मात्रै नभई असल बन्न सके मात्रै इतिहासमा नाम रहने भन्दै उनले त्यसका लागि विद्यार्थीको चौतर्फी विकास हुनुपर्ने र टेक्ससको उद्देश्य त्यही भएको उल्लेख गरे । उनले विद्यार्थीको टेक्ससको पढाई अर्थपूर्ण रहने विश्वास सहित सबैलाई टेक्सस परिवारमा स्वागत गरे।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल भेसराज पोख्रेलले विद्यार्थीहरूले गुणस्तरीय शिक्षा हासिल गर्नका लागि एक मात्र सही गन्तव्य टेक्सस इन्टरनेशनल कलेज रहेको बताए । केही समय अघि मात्रै प्रकाशित भएको कक्षा १२ को नतिजामा सहभागी विद्यार्थीहरूले ‘ए’ र ए प्लस सहित उत्कृष्ट नतिजा दिएकोमा उनले खुसी व्यक्त गरे। टेक्सस कलेज भनेको आफूहरू नभई त्यहाँ अध्ययनरत विद्यार्थीहरू र उनीहरूको व्यवहार भएको भन्दै कलेजले नारा जस्तै आफ्ना विद्यार्थीलाई पूर्ण मानव बनाउने उनले बताए। उनले सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए।
कार्यक्रमको मुख्य आकर्षण बनेका प्रमुख अतिथि एसएसपी खड्काले कार्यक्रम हेरिरहँदा आफूलाई पनि आफ्नो कलेज जीवन स्मरण भएको भन्दै आमन्त्रणका लागि धन्यवाद दिए। सशस्त्र प्रहरी बलको इतिहास, आवश्यकता र महत्त्व बारे चर्चा गरेका उनले पावरपोइण्ट प्रस्तुति मार्फत एपीएफले देशका लागि गर्दै आएको कामको जानकारी विद्यार्थीहरूलाई गराए। थापाले एपीएफ तिर रुचि भएका विद्यार्थीलाई त्यस बारे बुझाउँदै बर्दीमा रहेर देशको सेवा गर्न पाउँदा गर्व अनुभूति हुने उल्लेख गरे। कार्यक्रममा एपीएफका कलाकारहरूले सुन्दर नृत्य प्रस्तुति पनि दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै हाल कक्षा १२ मा अध्ययनरत शिवानी रोय र विनीता लामिछानेले कलेज बारे आफ्नो धारणा राखेका थिए । उनीहरूले एक वर्ष अघि आफूहरू कलेजमा स्वागत हुँदै गर्दा के होला ? कस्तो होला ? भन्ने कौतुहलता रहेको र पढाई सुरु गरेपछि सोचे भन्दा अझै स्तरीय शिक्षा कलेजबाट पाएको हुँदा ढुक्क हुन नव आगन्तुक विद्यार्थीलाई सुझाव दिए । टेक्सस कलेज छनोट गर्नु आफूहरूको सबैभन्दा महत्त्वपूर्ण निर्णय भएको उनीहरूको भनाई थियो । उनीहरू दुवैले उत्कृष्ट नतिजाका लागि कक्षा १२ लाई बधाई दिँदै सुन्दर भविष्य निर्माणका लागि शुभकामना दिए।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि टेक्सस कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखे । आज टेक्सस कलेजका उत्पादनहरू हरेक क्षेत्रमा सफल हुनु नै यसको प्रमाण भएको उनीहरूको भनाइ थियो ।
कलेजले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई मायाको चिनो द्वारा सम्मान गरेको थियो भने उत्कृष्ट नतिजा निकाल्न योगदान गरे बापत शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको अनौपचारिक सत्रमा प्रसिद्ध गायिका रचना रिमाल, चर्चित हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतले विशेष प्रस्तुति दिएका थिए भने टेक्ससका विद्यार्थीका प्रतिभाले भरपुर गायन, नृत्य, नाटक आदि प्रस्तुतिले कार्यक्रमलाई रोचक र अर्थपूर्ण बनाएको थियो।