काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोकर्णेश्वर नगर कमिटीले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। शुक्रवार नगर भित्रका प्रि स्कुलहरूको सहभागितामा नेपाली नारीहरूको महान् चाड तिजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो।
अपेन गोकर्णेश्वरका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै नगरपालिकाकी उपप्रमुख सान्नानी लामा विशेष अतिथिका रूपमा रहँदा कार्यक्रममा अतिथिका रूपमा नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्डपानी शर्मा पौडेल, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहरा, नगरपालिका शिक्षा स्रोत व्यक्ति रामनारायण शाह , एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष निराजन आचार्य , निशानका अध्यक्ष सौर्य आचार्य , ईशानका साधना खतिवडा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिका भित्रका १० वटा प्रि स्कुलहरूको बालबालिका तथा शिक्षिका/कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै विशेष अतिथि लामाले साना साना बालबालिकाको प्रतिभालाई व्यवस्थित रूपमा मञ्चमा उपस्थित गराएर उत्कृष्ट कला प्रस्तुत गराउन सक्नु चुनौतीपूर्ण र महत्त्वपूर्ण कार्य भएको बताउँदै सफलताको शुभकामना दिइन्।
त्यस्तै प्रमुख अतिथि रिसालले सिर्जनात्मक कार्यक्रम आयोजना गरेको भन्दै अपेन गोकर्णेश्वर नगर समिति प्रति आभार व्यक्त गरे। उनले मण्टेश्वरी प्रि स्कुलहरूको हक हितका लागि अपेन गोकर्णेश्वर सँग सहकार्य गर्न नगरपालिका तयार रहेको उल्लेख गर्दै शिक्षामा आमूल परिवर्तन गर्न नगरपालिका लागिरहेको बताए।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद र आगामी दिनका लागि शुभकामना दिए।
प्रतियोगितामा समदर्शी स्कुल प्रथम , शुभकामना स्कुल द्वितीय, शुभबिहानी स्कुल तृतीय तथा ह्यापी किड्स स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम समापन पश्चात् अपेन गोकर्णेश्वरले बेलुकी महिला शिक्षक कर्मचारीहरूको लागि सामूहिक तीज कार्यक्रमको पनि आयोजना गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन अपेन गोकर्णेश्वरकी सदस्य तथा कार्यक्रम संयोजक जानकी खड्काले गरेकी थिइन्।

