काठमाडौँ- चितवनको रत्ननगर नगरपालिका स्थित एक विद्यालयका शिक्षकहरूले विद्यार्थीलाई सडकमा ल्याएर आन्दोलन गराएका छन्। आफ्नो सरुवा थमौतीका लागि रत्ननगरको टाँडी बजारमा रहेको नेपाल माध्यमिक विद्यालयका १० जना शिक्षकहरूले आन्दोलन गराएका हुन् ।
नगरपालिकाले गत भदौ १३ गते ३६ जना शिक्षकको अन्तरपालिका सरुवा गरेको थियो । तीमध्ये यो विद्यालयका यी १० शिक्षकहरू परेका थिए । शिक्षक सरुवाको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरूले र्यालीसहित आज नगरपालिका पुगेर ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नारा जुलुस गरेका हुन् ।
रत्ननगर नगरपालिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्र बरालका अनुसार सरुवाको पत्र सम्बन्धित विद्यालयलाई जानुअघि नै केही पेशागत महासंघका प्रतिनिधि आएर सरुवा थमौतीको लागि अनुरोध गरेका थिए। निर्णय भइसकेको अवस्थामा थमौती गर्न नसकिने जानकारी पालिकाले गराएको थियो। पत्र प्राप्त भएपछि विद्यालयका ससाना विद्यार्थी उचालेर नेपाल माध्यमिक विद्यालयका शिक्षकहरूले पालिकामा प्लेकार्डसहित ल्याएकोमा आफूहरूले सम्झाएर विद्यालय पठाएको उनले जानकारी दिए ।
विद्यालयका शिक्षकहरू भने नगरपालिकाले मनोमानी ढंगबाट कार्यविधि विपरीत सरुवा गरेको आरोप लगाउँछन् ।
