काठमाडौँ- सोमबार संसद्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम थियो। सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई जवाफ दिन रोस्टममा बोलाए। राईले त्यहाँ एउटा यस्तो प्रश्नको सामना गर्नुपर्यो जसले उनलाई संसद्को रोस्टममै अकमक्क परेर अर्कै जवाफ दिन बाध्य पार्यो।
शिक्षामन्त्री रोस्टम पुग्दा आफ्ना प्रश्नहरू सहित तयार थिए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल। सुवालले मन्त्री राईलाई हाल सरकामा रहेका दलहरूले विज्ञान र प्रविधि सम्बन्धी गरेका बाचाहरू कति वटा पुरा भयो भनेर प्रश्न गरे। राईले त्यो प्रश्नको उत्तर दिएपछि सुवालले पुनः त्यही प्रश्नको पूरक प्रश्न राखे। पूरक प्रश्नको जवाफ सकिएपछि सुवाल ६ नम्बरको अर्को प्रश्न तिर लागे। यो प्रश्नमा निःशुल्क शिक्षाको प्रसङ्ग सहित ख्वप विश्वविद्यालयको प्रसंग पनि थियो।
मन्त्री राईले अनिवार्य र निःशुल्क शिक्षाको यो प्रश्न बारे जवाफ दिए। त्यो जवाफ सकिएपछि सुवालले पुनः त्यही प्रश्नको पूरक प्रश्न राखे। ‘मन्त्रीजीहरूले निजी विद्यालय खोलेर शिक्षाको व्यापारी बनेको सत्य हो कि होइन ?’ सुवालले यो प्रश्न सोधेपछि मन्त्री राई अप्ठ्यारोमा परे। उनी केही बेर अक्मकिए। के भन्ने थाहा नभएपछि उनी यो प्रश्न छलेर पुनः जवाफ दिइसकेको अघिल्लो प्रश्न तिर लागे र ख्वप विश्वविद्यालयको कुरा गरेर टारे। । यो सबै दृश्य देखेर सभामुखले मन्त्री राईलाई आसन ग्रहण गर्न भने।
मन्त्री राई आफैँ निजी विद्यालय सञ्चालक रहेको चर्चा हुने गरेको छ। त्यही कारण यो प्रश्नको जवाफ मन्त्री राईले दिन नसकेको आँकलन हुन थालेको छ।
भिडियो हेर्नुहोस् ।