काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोकर्णेश्वर नगर कमिटीले अन्तर विद्यालय नृत्य प्रतियोगिता गर्ने भएको छ। आगामी भाद्र २२ गते नगर भित्रका सम्पूर्ण प्रि स्कुलहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो। नेपाली नारीहरूको महान् चाड तिजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको अपेन गोकर्णेश्वरले जनाएको छ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल प्रमुख अतिथि रहने कार्यक्रममा उपप्रमुख सान्नानी लामा विशेष अतिथिकी रूपमा रहनेछिन्। कार्यक्रममा नगर भित्रका प्रि स्कुलका शिक्षिका, कर्मचारी, विद्यार्थी सहित अपेनका अन्य आमन्त्रित अतिथिहरूको सहभागिता रहनेछ।
मात्र एजुकेसन सँग कुरा गर्दै अपेन गोकर्णेश्वरका अध्यक्ष प्रकाश अधिकारीले प्रतियोगिता सकिए पश्चात् सोही दिन पुरस्कार वितरण कार्यक्रम पनि गरिने जानकारी दिए। उनका अनुसार प्रतियोगिता सकिएपछि अपेन तिज विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ८ , आत्तरखेल स्थित ओसिश पार्टी प्यालेसमा बिहान १० बजे कार्यक्रम सुरु हुनेछ। अधिकारीले सम्बद्ध सबैलाई सक्रिय सहभागिताका लागि पनि अनुरोध गरेका छन्।
कार्यक्रमको संयोजन अपेन गोकर्णेश्वर नगर समिति सदस्य जानकी खड्काले गरेकी छिन्।