काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आयोजना गरेको जापान विशेष एजेन्ट मिट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संस्थाले शुक्रवार हात्तीसार स्थित नेपाल हाउस रेस्टुरेन्टमा आयोजना गरेको उक्त कार्यक्रममा १६० भन्दा धेरै परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।
फेकन अध्यक्ष राजु निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बासु नेपाल सहित फेकन पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जापानको एडभान्स एकेडेमी कलेजका प्रिन्सिपल नोरियो गोतो प्रमुख अतिथिका रूपमा रहेका थिए। जानकारीमूलक सत्र र प्रश्नोत्तर कार्यक्रम पनि राखिएको हुँदा कार्यक्रम अन्तरक्रियात्मक बनेको थियो।
कार्यक्रममा पछिल्लो समय जापान पठाउने परामर्श व्यवसायीले भोग्नुपरेका विभिन्न समस्याहरू बारे छलफल भएको थियो। जापनिज स्कुलका प्रतिनिधिले जापान अध्ययनका विभिन्न आयामहरू बारे प्रस्ट पार्दै नेपाली विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्ने विविध पद्धतिहरू बारे चर्चा गरेका थिए। त्यस्तै उनले फेकन सँग काम गर्न आफूहरू उत्साहित रहेको भन्दै यो सहकार्य बारे आफ्नो कलेजमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै सभापति निरौलाले जापान काम गर्ने फेकन परामर्श व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याहरू उजागर गर्न कार्यक्रम आयोजना गरिएको बताए। आफू निर्वाचित भएर आइसकेपछि पनि जापान काम गर्ने व्यवसायीहरूले भोगेका विविध चुनौतीहरू बारे पटक पटक गुनासो आएको हुँदा एउटा साझा मञ्चमा रहेर तिनका बारे छलफल गराउन चाहेको र सोही अनुरूप कार्यक्रम आयोजना भएको उनको भनाई थियो। कार्यक्रमले जापान काम गरिरहेकाहरूको ज्ञानको दायरा विस्तार भएको र गर्न चाहनेहरूका लागि बाटो खुला गरेको उनले उल्लेख गरे। निरौलाले जापान सहित सबै गन्तव्यमा देखिने समस्याहरू समाधानका लागि आफ्नो कार्यसमिति हरदम तयार रहेको भन्दै यस किसिमका कार्यक्रम नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका जापान विभाग प्रमुख गौतम पुडासैनीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले जापान काम गर्न चाहेका तर त्यहाँका शैक्षिक संस्थाहरू सँग पहुँच नभएका फेकन सदस्य परामर्श व्यवसायीलाई त्यो पहुँच पुर्याउने, जापानको डकुमेन्टेसन प्रक्रियामा एकरूपता ल्याउने आदि कार्यक्रमको उद्देश्य पुरा भएको उल्लेख गरे । समग्रमा कार्यक्रम मार्फत जापान काम गर्ने फेकन परामर्श व्यवसायीहरूको अधिकतम हित गर्ने, विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने र अध्ययन गन्तव्यका रूपमा जापान छानेका विद्यार्थीहरूले भोग्नुपरेका समस्या समाधान गर्ने आफूहरूको प्रयास कार्यक्रम पश्चात् पुरा हुने अपेक्षा आफूले राखेको पुडासैनीले बताए।
यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सकिन्छ।