काठमाडौँ- युवा लक्षित कार्यक्रम ‘काठमाडौँ युथ कनक्लेभ’ (केवाईसी) को चौथो संस्करण यही भदौ ९ गते शनिवार आयोजना हुने भएको छ । कार्यक्रम बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पुरा भइसकेको र शनिवार बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने जानकारी गराइएको हो ।
कार्यक्रमलाई फिनिक्स कलेज र युनिभर्सल कलेजले संयुक्त रूपमा आयोजना गरेका हुन् । कार्यक्रम प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा हुनेछ । कार्यक्रमको मुख्य प्रयोजकमा नेपालको पहिलो मोबाइल वालेट इसेवा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै फिनिक्स कलेजका प्रिन्सिपल प्रा.डा. फत्तबहादुर केसीले यो कार्यक्रमले युवा विदेश पलायन हुने क्रम केही हदसम्म मात्रै भए पनि रोक्ने अपेक्षा गरिएको बताए ।
ग्लोबल कलेजका प्रिन्सिपल तथा फिनिक्स नेटवर्कका चिफ एकेडेमिक डाइरेक्टर डा. शिवदत्त ज्ञवालीले देशमै बसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूबाट युवाहरूले धेरै सिक्न पाउने बताए । युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न, नयाँ इनोभेसनका काम गर्न यो कार्यक्रम कोशेढुङ्गा हुने उनले अपेक्षा गरे ।
पत्रकार सम्मेलनमा फिनिक्स कलेजका एकेडेमिक डाइरेक्टर अभिनाश अधिकारी, इजोनका अध्यक्ष रवीचन्द्र पराजुली लगायतको सहभागिता रहेको थियो ।
देशको जनसङ्ख्याको झन्डै ४० प्रतिशत ओगट्ने युवायुवतीहरूलाई एउटै मञ्चमा ल्याइ, देशको विभिन्न क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्यक्तिहरूको ज्ञान, सीप, अनुभव बाँडी, युवा वर्गलाई देशको चौतर्फी विकासमा योगदान पुर्याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको युनिभर्सल कलेजका एकेडेमिक डाइरेक्टर, फिनिक्स नेटवर्कका डाइरेक्टर तथा कार्यक्रम संयोजक राजु टण्डनले बताए । उनले भने, ‘देशका सशक्त युवायुवतीलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरी, नेपालमै शिक्षा प्रदान गरी, देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई, स्वरोजगारका अवसरहरू सृजना गरी राष्ट्र सेवामा अभिप्रेरित गर्न यस कार्यक्रमको भूमिका रहने छ ।’ यस कार्यक्रममा करिब ५००० युवायुवतीहरूको (खासगरी १६ देखि २५ वर्ष उमेर समूहका) सहभागिता हुने आयोजकको आशा रहेको छ ।
कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित सेफ सन्तोष साह, कीर्तिमानी धाविका मिरा राई, एनसेलका सिइओ जबुर कायुमोभ, पब्जी मोबाइल टिम डिआरएस गेमिङ, सामाजिक अभियन्ता भूमिका श्रेष्ठ, इसेवाका सिइओ जगदीश खड्का, मोटिभेशन स्पिकर रुपेशभारा गौरा दास, गायक तथा संगीतकार नितेशजंग थापा, र्यापर महेश दोङ, गायक, गीतकार तथा गिटारिस्ट समीर श्रेष्ठ, कमेडियन साजन श्रेष्ठ लगायतको सहभागिता, अन्तरक्रिया र प्रस्तुति रहने छ ।
विगतका वर्षहरू सरह यस वर्षको ‘काठमाडौँ युथ कनक्लेभ –युथ आइकन’ अवार्ड नेपालमा ई–स्पोर्टस्को नयाँ सम्भावना उजागर गर्न सफल नेपाली पब्जी टिम ‘डिआरएस’ लाई प्रदान गर्ने आयोजकले बताएको छ । रु १ लाख पुरस्कार राशि र सम्मान रहेको यो अवार्ड प्रत्येक वर्ष युवाहरूमा प्रेरणा दिने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन सांगीतिक प्रस्तुति, प्रहसन, नृत्य प्रस्तुति लगायत विभिन्न स्टार्टअप मण्डप, खानाका स्टलहरू, खेलहरू तथा विद्यार्थीका रोचक प्रस्तुतिहरू पनि समावेश गरिएको संयोजक टण्डनले बताए । युवा लक्षित कार्यक्रम भएकोले युवाहरूलाई सक्रिय सहभागिता जनाउन पनि उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।