काठमाडौँ- टेक्सास एजुकेसन नेटवर्कले २० हजारभन्दा बढी विद्यार्थी सहभागी गराउने लक्ष्यसहित सातौँ संस्करणको ‘टेक्सास साइन्स एण्ड आइटी एक्जिबिसन २०८३’ आयोजना गर्ने भएको छ। मङ्सिर २३, २४ र २५ गते तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीनतम परियोजना प्रदर्शन गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा विद्यार्थीको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूलाई प्रयोगात्मक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रदर्शनीमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी, विज्ञान तथा सूचना प्रविधि विषयमा अध्ययनरत उच्च माध्यमिक र स्नातक तहका विद्यार्थीका परियोजना समावेश गरिनेछ। आयोजकका अनुसार प्रदर्शनीमा कम्तीमा १५० विद्यालय तथा कलेजबाट विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको छ। यसका लागि करिब ३०० शैक्षिक संस्थासम्म पुगेर सहभागिताका लागि आमन्त्रण गरिनेछ।
टेक्सास एजुकेसन नेटवर्कका प्राचार्य डा श्यामसुन्दर श्रेष्ठले विद्यार्थीले निर्माण गरेका परियोजना प्रदर्शन गर्नुका साथै अन्य शैक्षिक संस्थाका विद्यार्थीलाई समेत अवलोकनको अवसर प्रदान गरिने बताए। यसले विद्यार्थीमा आफूले पनि नयाँ प्रविधि र परियोजना निर्माण गर्न सक्छु भन्ने आत्मविश्वास विकास गर्ने उनको भनाइ थियो । उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक सिकाइमा जोड दिनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए। नेपालमै रहेर विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्न सकिन्छ र देशका लागि योगदान दिन सकिन्छ भन्ने विश्वास विद्यार्थीमा जगाउन खोजिएको उनले बताए।
प्रदर्शनीमा रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), स्मार्ट उपकरण, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, स्वास्थ्य तथा वैज्ञानिक नमुनामा आधारित परियोजना प्रस्तुत गरिनेछन्। विद्यार्थीले आफैँ निर्माण गरेका परियोजनाको प्रत्यक्ष प्रदर्शन र प्रस्तुति गर्नेछन्।
प्रदर्शनीमा स्मार्ट पार्किङ प्रणाली, स्वास्थ्य अनुगमन प्रणाली, एआईमा आधारित विपद् अनुगमन तथा पूर्व सूचना प्रणाली, बोलीबाट सञ्चालित भाषा अनुवादक, रिसाइकलिङ मेसिन, स्वचालित कार, मानवाकार रोबोट, रोबोट कुकुर र माटोको तरलीकरण सम्बन्धी नमुनालगायत परियोजना मुख्य आकर्षणका रूपमा रहनेछन्।
टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेलले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्नुको उद्देश्य उनीहरूलाई जीवन र भविष्यका लागि तयार गर्नु रहेको बताए। विज्ञान तथा प्रविधिसम्बन्धी सीपसँगै व्यवस्थापकीय र बजारमा आवश्यक पर्ने व्यावहारिक सीपसमेत विकास गर्ने लक्ष्य राखिएको उनले बताए। विद्यार्थीमा नयाँ कुरा अन्वेषण गर्न र समाजलाई केही योगदान दिन सक्छु भन्ने आत्मविश्वास जगाउनु प्रदर्शनीको अर्को उद्देश्य रहेको पोखरेलको भनाइ थियो ।
त्यस्तै, टेक्सास एजुकेसन नेटवर्कका प्रबन्ध निर्देशक तथा प्रदर्शनी मूल आयोजक समिति संयोजक जितेन्द्रकुमार बाखुले विद्यार्थीलाई प्रयोगात्मक रूपमा दक्ष बनाई भविष्यमा बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। विद्यार्थीले महिनौँको मेहनतबाट तयार पारेका परियोजनालाई प्रत्यक्ष रूपमा प्रदर्शन गर्ने अवसर प्रदान गरिने उनले जानकारी दिए। प्रदर्शनीमा सहभागी विद्यार्थीका लागि विभिन्न खेल तथा गतिविधिमा सहभागी हुने अवसरसँगै निःशुल्क चिया तथा खाजाको व्यवस्था पनि गरिएको छ।
मङ्सिर २३ देखि २५ गतेसम्म टेक्सास एजुकेसन नेटवर्क, मित्रपार्क, काठमाडौँमा सञ्चालन हुने प्रदर्शनी हरेक दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ। प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य इच्छुक अवलोकनकर्ताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।