Matra Education बिहिबार, मंसिर १० २०८३

भोलि ३०औँ स्थापना दिवस मनाउँदै हिसान, सप्ताहव्यापी कार्यक्रम गरिने

भोलि ३०औँ स्थापना दिवस मनाउँदै हिसान, सप्ताहव्यापी कार्यक्रम गरिने

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर १० २०८३


काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भोलि (मङ्सिर ११ गते) आफ्नो ३०औँ स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाउने भएको छ । ‘शिक्षाका लागि एकता, राष्ट्रनिर्माणमा प्रतिबद्धता’ भन्ने नाराका साथ हिसानले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

२०५३ साल मङ्सिर ११ गते स्थापना भएको हिसानले तीन दशकको यात्रालाई विशेष बनाउन मङ्सिर ९ देखि ११ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेको हो । स्थापना दिवसका अवसरमा मङ्सिर ११ गते बिहान विद्यार्थी, शिक्षक, प्राचार्य तथा सञ्चालकहरूको सहभागितामा दौड प्रतियोगिता आयोजना हुनेछ ।

त्यसैगरी, बिहान १० बजे काठमाडौँको गौशालास्थित वेस्ट वेस्टर्न प्लस होटेलमा विशेष समारोह आयोजना गरिनेछ । कार्यक्रममा संस्थापक, पूर्व अध्यक्ष तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । समारोहमा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागितामा विद्यालय शिक्षा र उच्च शिक्षासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुति, हिसानको स्मारिका विमोचन तथा प्रदर्शनीसमेत गरिनेछ ।

तेस्रो हिसान म्याराथनमा पाँच हजार विद्यार्थी सहभागी हुने

स्थापना दिवसकै अवसरमा भोलि तेस्रो हिसान म्याराथन–२०२६ पनि आयोजना हुँदै छ । बिहान ६:३० बजे थापाथलीस्थित ट्रेड टावरबाट सुरु हुने म्याराथनमा काठमाडौँ उपत्यकाका विद्यालय तथा कलेजमा अध्ययनरत करिब पाँच हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका नियमित विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

२० हजार विद्यार्थी जोड्ने लक्ष्यसहित राष्ट्रिय विद्यार्थी ह्याकाथन

हिसानले स्थापना दिवसको अवसरमा लेट्स लर्नसँगको सहकार्यमा ‘राष्ट्रिय विद्यार्थी ह्याकाथन’ पनि आयोजना गरेको छ । ‘इनोभेट टुडे, ट्रान्सफर्म टुमरो’ नारासहित आगामी माघ ८, ९ र १० गते काठमाडौँमा आयोजना हुने कार्यक्रममा देशभरका २० हजारभन्दा बढी विद्यार्थीलाई जोड्ने लक्ष्य राखिएको छ ।

जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको व्यावहारिक समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा ७५ भन्दा बढी कलेज तथा शैक्षिक संस्थाको सहभागिता रहनेछ । उत्कृष्ट परियोजनालाई नगद पुरस्कार, स्टार्टअप इन्क्युबेसन, मेन्टरसिप तथा प्रारम्भिक लगानीको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

हिसानले तीन दशकको शैक्षिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत एकता र शैक्षिक विकासमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड