काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन र अपमानजनक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि नरोकिए कानुनी उपचारमा जाने चेतावनी दिएको छ ।
प्याब्सन केन्द्रीय कार्यसमितिले मङ्सिर ३ गते प्रेस विज्ञप्ति जारी गर्दै आलोचना गर्ने अधिकार लोकतन्त्रको आधार भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर गर्न नसकिने जनाएको हो ।
नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौँदेखि योगदान दिँदै आएको उल्लेख गर्दै प्याब्सनले निजी क्षेत्रको लगानी, श्रम, जोखिम र जिम्मेवारीलाई पूर्वाग्रहपूर्ण टिप्पणीका आधारमा अवमूल्यन गर्नु न्यायोचित नहुने बताएको छ । केही व्यक्तिगत घटनाका आधारमा समग्र संस्थागत विद्यालय क्षेत्रलाई दोषारोपण गर्ने, संस्था र नेतृत्वको सार्वजनिक प्रतिष्ठामा प्रहार गर्ने तथा भ्रमपूर्ण धारणा फैलाउने प्रवृत्तिप्रति प्याब्सनले कडा आपत्ति जनाएको छ ।
विद्यालय सञ्चालकहरू शिक्षक तथा कर्मचारीको पारिश्रमिक, सेवा सुविधा, पेसागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा थप जिम्मेवार, पारदर्शी र जबाफदेही हुनुपर्नेमा प्याब्सनले जोड दिएको छ । जायज गुनासाको निष्पक्ष सम्बोधन, कानुनको पालना र आवश्यक सुधार विद्यालय सञ्चालकहरूको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।
तर सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुपर्नेमा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाउनु समस्या समाधानको जिम्मेवार बाटो नभएको प्याब्सनको भनाइ छ । विशेष गरी शैक्षिक संस्था सञ्चालन गरिरहेका र शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादा कायम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
कुनै विषयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने प्याब्सनले जनाएको छ । तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्न दृढ रहनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
प्याब्सनले संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासमा जोड दिँदै निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जबाफदेहिता, शिक्षक तथा कर्मचारीको पेसागत न्याय र गुणस्तरीय शिक्षा एक अर्काका विरोधी नभई परिपूरक विषय भएको जनाएको छ ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबि कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आलोचना तथ्यमा आधारित हुनुपर्ने, अभिव्यक्ति मर्यादित हुनुपर्ने र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित रहनुपर्ने उल्लेख गरिएको छ ।
