काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड एकेडेमीमा क्रिसमस मेला सम्पन्न भएको छ। इसाई धर्मावलम्बीहरूले यशु ख्रिस्टको जन्मदिनमा मनाउने क्रिसमस चाडको पुर्वसन्ध्यामा डिसेम्बर २२ तारिखका दिन युनाइटेड एलुम्नाई एसोसिएसनले मेलाको आयोजना गरेको थियो।
मेलामा विद्यार्थीहरूका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिएको थियो। खासगरी ९ वटा विविध प्रकारका स्टलहरू मार्फत मेलालाई सजाइएको थियो। यस्ता स्टलहरूमा खानेकुराका विभिन्न परिकार, दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू आदि राखिएका थिए। साथै टिभिएस मोटर्सका विभिन्न उत्पादनहरूको ‘टेस्ट राइड’ गर्ने अवसर पनि विद्यार्थीले प्राप्त गरेका थिए। क्रिसमसको अवसर भएकाले स्यान्टा क्लस बाट उपहार पाउनु, क्रिसमस ट्रि सजाउनु र त्यहाँ भित्र लुकाइएका उपहारको खोजी गरेर प्राप्त गर्नुले विद्यार्थीहरूमा अझै बढी उत्साह थपेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले क्रिसमस बारे आफूले जानेका कुराहरू साथीहरू माझ बाँड्ने काम पनि गरेका थिए। संस्थाले अन्य चाडपर्व तथा सांस्कृतिक अवसरहरूमा पनि यस्तै विभिन्न क्रियाकलापहरू गर्दै आएको छ।