Matra Education आइतबार, साउन १० २०८३

सम्पन्न भयो ३ दिने युनाइटेड एकेडेमी मोडल युनाइटेड नेसन

सम्पन्न भयो ३ दिने युनाइटेड एकेडेमी मोडल युनाइटेड नेसन

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर ९ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुर स्थित युनाइटेड एकेडेमीले आयोजना गरेको ३ दिने युनाइटेड एकेडेमी मोडल युनाइटेड नेसन (युए मुन) को समापन गरिएको छ। शनिवार विद्यालय परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी गत बिहीबार बाट सुरु भएको कार्यक्रमको समापन गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थी प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघका ७ वटा समितिहरू मार्फत विभिन्न एजेन्डाहरूमा छलफल/अन्तरक्रिया गरी अन्तिम निष्कर्ष दिँदै सिकाइको नवीन अनुभव प्राप्त गरेको आयोजकले जनाएको छ। पहिलो पटक आयोजित यो कार्यक्रम आफ्नो उद्देश्य पुरा गर्न सफल रहेको एकेडेमीको भनाई छ।

युए मुन समापनका लागि आयोजित औपचारिक कार्यक्रममा युएनडिपीकी नेपाल प्रतिनिधि बिन्दु मगर प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। त्यस्तै युनाइटेड एकेडेमीका प्रधानाध्यापक डा. लाल रापचा, एकेडेमिक हेड वसन्त नेपाली, युनाइटेड युनिभर्सल स्कुलका प्रधानाध्यापक राकेश श्रेष्ठ, युनाइटेड स्कुल इमाडोलका एकेडेमिक हेड चिरञ्जीवी निरौला सहित संस्थाका विभिन्न तह तप्कामा कार्यरत व्यक्तित्वहरू र अन्य आमन्त्रित अतिथिहरूको समुपस्थितमा कार्यक्रम समापन गरिएको हो।

कार्यक्रममा बोल्दै युनाइटेड एकेडेमीका एकेडेमिक हेड वसन्त नेपालीले पहिलो पटक गरिएको कार्यक्रम सफल भएको भन्दै खुसी व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघ (मुन) सुन्दा आफूलाई अचम्म लागेको स्मरण गर्दै युनाइटेड एकेडेमीका विद्यार्थीहरू भने अब अभ्यस्त हुने र त्यस्तो अवस्था नआउने उल्लेख गरे। कार्यक्रमले मूलतः विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उनले अनुशासन पूर्वक सहभागी हुने र सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।

कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघका एजेन्सीका रूपमा विभाजित विभिन्न ७ वटा समूहका सहभागी तथा उत्कृष्ट प्रतिनिधिलाई मायाको चिनो प्रदान गरिएको थियो। प्रत्येक समूहका अध्यक्षले उत्कृष्ट प्रतिनिधि किन र कसरी छानिए भन्ने जानकारी समापन समारोहमा गराएका थिए। सबै समूहमा प्रतिनिधिहरूले अथक मेहनत र सिक्नका लागि दृढ इच्छाशक्ति देखाएको कार्यक्रममा बताइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले आमन्त्रणका लागि युनाइटेड एकेडेमीलाई धन्यवाद दिइन् । विद्यार्थी प्रतिनिधिहरूले देखाएको आत्मविश्वास र क्षमताको खुलेर प्रशंसा गरेकी उनले आफ्नो बाल्यकाल स्मरण भएको बताइन्। युनाइटेडका विद्यार्थीले आज पाइरहेको अवसर, जानकारी र पहुँच विरलै पाइने भन्दै त्यसलाई अधिकतम उपयोग गर्न पनि उनले सुझाइन। मानव जीवनमा प्रभाव पार्ने विभिन्न जल्दा बल्दा समस्याहरू बारे छलफल गरेर निष्कर्ष निकाल्नका लागि युएन र यसका एजेन्सीहरू बनेर काम गर्नु सिकाइको एउटा दुर्लभ अवसर भएको उनको भनाई थियो। एउटा समुदायको सदस्यका रूपमा हामीले कसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा योगदान गर्न सक्छौ भन्ने युएन मुन जस्ता कार्यक्रमले सिकाउने भन्दै उनले युएन हाउसमा गएर अझै धेरै जानकारी लिन सकिने उल्लेख गरिन्। साथै उनले युएनले गर्दै आएका विभिन्न कार्यक्रमहरू बारे पनि सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

कार्यक्रम समापन गर्दै युए मुनका महासचिव आभास शर्माले ३ दिनको सिकाई एकदमै अर्थपूर्ण भएको उल्लेख गरे। विश्वका नेतृत्वकर्ताहरुले कसरी सोच्छन् र कसरी काम गर्छन् भन्ने बुझ्नका लागि एउटा उपयुक्त अवसर प्राप्त भएको उनले बताए। पहिलो पटक आयोजित कार्यक्रम सफल बनाउन आफू र आफ्नो समूहलाई सहयोग गर्ने प्रत्येकको नाम लिएरै धन्यवाद ज्ञापन गरेका उनले अर्को वर्ष अझै स्तरीय युए मुनमा पुनः भेट्ने बाचा सहित पहिलो संस्करण समापन भएको घोषणा गरे।

समापन कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड