Matra Education मंगलबार, असोज ६ २०८३

राजनीतिक गतिविधिमा लाग्ने शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक गतिविधिमा लाग्ने शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

  • मात्र एजुकेशन
  • मंगलबार, असोज ६ २०८३


काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका हुन्।

यसैबिच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न निर्देशन दिएको छ। शिक्षा ऐन तथा नियमावलीले तोकेको आचरण र सरकारका निर्देशन विपरीत गतिविधि गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गर्न एकाइले आग्रह गरेको छ।

यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी हुने शिक्षक तथा कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ।

एकाइका अनुसार सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको राजनीतिक गतिविधिमा संलग्नता देखिएको छ। शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) विपरीत गतिविधि भएको उल्लेख गर्दै सम्बन्धित स्थानीय तहलाई कानुनअनुसार कारबाही गर्न भनिएको छ।

कारबाहीको विवरण शिक्षा विकास तथा समन्वय एकाइलाई तत्काल जानकारी गराउनसमेत सिन्धुली एकाइले स्थानीय तहलाई निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड