काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड एकेडेमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच २०८० ब्याचका विद्यार्थीहरूलाई उनीहरूले हासिल गरेको उत्कृष्ट नतिजाका लागि सम्मान गर्दै बिदाइ गरिएको हो।
युनाइटेड एकेडेमीका प्रधानाध्यापक डा लाल रापचाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एकेडेमीका शिक्षक/शिक्षिका कर्मचारी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कक्षा ११ विज्ञान संकायमा अध्ययनरत अविज्ञा शर्माले सफलतापूर्वक आफ्नो अध्ययन पुरा गरेर बिदाइ हुन लागेका सबैलाई आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा अध्ययन पुरा गरेर बिदाइ हुँदै गरेका विद्यार्थीहरूको सम्मान तथा पुरस्कार वितरण रहेको थियो। उनीहरूले प्राप्त गरेको उत्कृष्टता र उपलब्धिहरूलाई मान्यता दिन पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्नेहरू देखि ‘आइटी बि कन्टेस्ट’ र ‘पावर पोइन्ट प्रिजेन्टेसन’ सम्मका प्रतियोगिताहरूमा आफूलाई अब्बल साबित गर्न सफल विद्यार्थीहरू पुरस्कृत भएका थिए। त्यस्तै युनाइटेड बास्केटबल प्रतियोगिता जस्ता खेलकुद प्रतियोगिताका सहभागी र विजेताहरूलाई प्रशंसाका साथै विशेष पुरस्कार र मायाको चिनो सहित सम्मान गरिएको थियो।
औपचारिक सत्र पश्चात् प्रतिभा र रचनात्मकताले भरिपूर्ण अनौपचारिक सत्र मार्फत कार्यक्रम अगाडी बढाइएको थियो। उक्त सत्रमा
विद्यार्थीहरूले मनमोहक प्रदर्शनहरूको शृङ्खला मार्फत आफ्नो कलात्मक प्रतिभा र रचनात्मकता प्रदर्शन गरे। कृषा थपलिया, आयुस्था राई, शुभाना श्रेष्ठ, कृषाला भुई श्रेष्ठ, द्रिपा श्रेष्ठ र अविज्ञा शर्मा लगायतको नेतृत्वमा भएको उक्त सत्रमा एकल गायन, वाद्य संगीत, ब्यान्ड प्रस्तुति र नृत्यको बेजोड प्रस्तुतिहरू राखिएको थियो। प्रत्येक प्रस्तुतिहरूले आफ्नो अलग विशेषता मार्फत उपस्थित दर्शकहरूको मन जितेका थिए।
कार्यक्रममा प्रस्तुत नृत्यहरू देश विदेशका विविध संस्कृतिको झल्को दिने किसिमका थिए। बिदाइ हुने विद्यार्थीहरूका तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै कक्षा १२ मा अध्ययनरत शुभम् श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।
त्यस्तै कार्यक्रमका सभापति तथा एकेडेमीका प्रधानाध्यापक डा. रापचाले विद्यार्थीहरूले एकेडेमीमा रहुन्जेल गरेका केही महत्त्वपूर्ण क्रियाकलापहरूको स्मरण गरे। उनले सबैको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम समापन गरे।
