Matra Education आइतबार, साउन १० २०८३

कक्षा ११ का नव आगन्तुक विद्यार्थीका लागि युनाइटेड कलेजले गर्‍यो स्वागत कार्यक्रम 

कक्षा ११ का नव आगन्तुक विद्यार्थीका लागि युनाइटेड कलेजले गर्‍यो स्वागत कार्यक्रम 

  • मात्र एजुकेशन
  • शुक्रबार, मंसिर १५ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुर स्थित युनाइटेड कलेजले प्लस टु तहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीलाई स्वागत गरेको हो । युनाइटेड कलेजका प्राचार्य डा लाल रापचाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिका रूपमा युनाइटेडका संस्थापक अध्यक्ष दृप चाम्लिङ, संस्थापक निर्देशक नरहाङ राई, संस्थापक तथा एकेडेमिक डाइरेक्टर कविराज वान्तवा, उपनिर्देशक दिपा चाम्लिङ र संगीतकार महेश खड्का रहेका थिए। कार्यक्रममा अन्य अतिथिका रूपमा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिहरू सहित युनाइटेडका शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै कक्षा १२ मा अध्ययनरत छात्रा ओजस्वी जोशीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरू जीवनको सबैभन्दा सुन्दर पलहरू निर्माणका लागि युनाइटेड आएको बताइन्। एक वर्ष अघि आफूले पनि कुनै दुबिधा बिना युनाइटेड छानेको र आज त्यो निर्णय जीवनकै उत्कृष्ट निर्णय थियो भन्ने महसुस भइरहेको उनले बताइन्। आफ्ना विद्यार्थीको शैक्षिक गतिलाई उच्चतम बिन्दुमा पुर्‍याउने काम कलेजले गर्दै आएको उनको भनाई थियो। युनाइटेड कलेज मात्रै भन्दा पनि एउटा सिंगो परिवार भएकाले आगामी दुई वर्षमा नव आगन्तुक विद्यार्थीहरूले आफूलाई हजारौँ अवसरहरूले घेरिएको अवस्थामा पाउने विचार राख्दै उनले कडा मेहनत गरेर यो अवसरको सही सदुपयोग गर्न सुझाइन्।

स्वागत कार्यक्रमकै अवसर पारेर विभिन्न परीक्षा तथा प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई कलेजले पुरस्कार वितरण पनि गरेको थियो। उक्त पुरस्कार वितरणमा विभिन्न परीक्षामा ४ जिपिए सम्म प्राप्त गरेका विद्यार्थीहरू पुरस्कृत भइरहँदा युनाइटेडले आफ्नो गौरवपूर्ण शैक्षिक उपलब्धि उपस्थित दर्शकहरू माझ प्रदर्शन गरेको थियो।

कक्षा ११ का विद्यार्थीहरूलाई प्रतिनिधित्व गर्दै धन्यवाद ज्ञापन गरेकी छात्रा स्वीकृति शेरचनले सो अवसर प्रदान गरेकोमा कलेज प्रशासनलाई धन्यवाद दिइन्। आफूहरूले कार्यक्रम मार्फत नयाँ स्मृति बनाउने अवसर प्राप्त गरेको भन्दै उनले आयोजक कक्षा १२ का विद्यार्थीहरूको लगाव, मेहनत र समर्पणले कार्यक्रम सफल हुने दिशामा अग्रसर भएको उल्लेख गरिन्। उनीहरूको त्यो जोस र समर्पण बाट सबै नव आगन्तुक विद्यार्थीले महत्त्वपूर्ण शिक्षा लिएको उनको भनाई थियो। उनले गायन नृत्य लगायतका प्रस्तुति दिन तयारी गरेका र कार्यक्रम सफल बनाउन भूमिका खेलेका सबैलाई धन्यवाद दिइन्।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति रापचाले शैक्षिक वृद्धि, कल्याण र सशक्तीकरणको यात्रामा युनाइटेड कलेज मार्फत जोडिएका विद्यार्थीलाई स्वागत गरे। यो २६ औँ ब्याचले आजसम्म ५८ दिन युनाइटेड कलेजमा बिताइसकेको हुँदा कलेजको बारेमा उनीहरूले आफैँ बुझिसकेको उनको भनाई थियो। युनाइटेडमा जोडिएर भविष्य निर्माणको यात्रा थालेका विद्यार्थीहरू भाग्यमानी भएको भन्दै उनले कलेजका विद्यार्थीहरू आज पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै आफूलाई प्रमाणित गरिरहेको र भोलि पनि त्यो जारी रहने बताए। रापचाले कक्षा ११ मा भर्ना भएर उत्कृष्ट नतिजा हासिल गरेका केही विद्यार्थीहरूको नाम लिँदै सबैले त्यस्तै शैक्षिक प्रगति गर्नुपर्ने धारणा राखे। उनले युनाइटेडमा यो दुई वर्षको अध्ययनले सबै विद्यार्थीको सुन्दर भविष्यको जग बस्ने विश्वास सहित औपचारिक कार्यक्रम समापन गरे।

औपचारिक कार्यक्रम समापन पश्चात् युनाइटेडका विद्यार्थीका प्रतिभाले भरिपूर्ण मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थीहरूका गायन, नृत्य लगायतका प्रतिभाहरू मनमोहक देखिन्थ्यो। गायन र नृत्यका लागि विभिन्न सांस्कृतिक भेसभुसामा सजिएका विद्यार्थीहरू मञ्चमा प्रस्तुत हुँदा व्यावसायिक कलाकारहरू जस्तै देखिन्थे।

कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ  र यहाँ  क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड